प्रहरीले दोलखामा गएको हप्ता सात किलो सुन बरामद गरेको छ । दुई पटक गरेर ल्याइएको सुन एकपटक तीन किलो र एकपटक चार किलो बरामद भएको थियो । त्यसमा संलग्न केहीलाई पनि पक्राउ गरिएको छ ।
यस्तै शुक्रबार रसुवाबाट एक किलो सुनसहित दुई जनालाई सिआइबीले नै पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताउनुभयो ।
यी घटना हेर्दा विमानस्थलमा सुरक्षा व्यवस्था कडा भएको चाल पाएपछि उनीहरूले वैकल्पिक मार्ग प्रयोग गरेको निष्कर्षमा अन्य सीमा नाकामा निगरानी बढाइएको उहाँले बताउनुभयो ।
यसअघि सुन तस्करीका घटना विमानस्थलबाटै भएको पाइएको थियो । त्यसमा पनि भन्सारका कर्मचारी कै मिलेमतोसमेत पाइएको छ ।
अघिल्लो वर्ष विद्युतीय चुरोट (भेप) मा हालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो सुन तस्करी भएको थियो । गत साउन २ गते विमानस्थल हुँदै झण्डै ६१ किलो सुन तस्करी भयो ।
यी दुवै घटनाको मुद्दा अहिले अदालतमा विचाराधीन छ । यस्तै सिआइबीले ती घटनाका विषमया पुरक अनुसन्धान जारी राखेको छ ।
विमानस्थल हुँदै ल्याएको सुन र यी विभिन्न क्षेत्रमा बरामद भएको सुन प्रकरणको सम्बन्ध के छ भनेर अहिले प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ ।
पटकपटक विमानस्थल हुँदै सुन तस्करी भएका घटना बाहिरिरहेका बेला पछिल्ला केही घटनाक्रमले भने तस्करले विमानस्थलभन्दा वैकल्पिक मार्ग प्रयोग गरेर सुन तस्करी गरिरहेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत नै बताउँछन् ।
उक्त घटनाको आपसी सम्बन्ध छ की छैन भनेर अनुसन्धान जारी रहेको खबर छ ।