पर्वतमा भएको स्यानिटरी प्याड काण्ड के हो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पर्वतमा भएको स्यानिटरी प्याड काण्ड के हो - Gandaki Express


पर्वतको कुश्मा नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क वितरण गर्ने भनी खरिद गरिएको स्यानिटरी प्याडमा आर्थिक चलखेल भएको आशङ्का गरिएको छ । 


आर्थिक अनियमित्ताका कारण खरिद गरिएको स्यानिटरी प्याडको भुक्तानी रकम रोकिएपछि वितरण गरिएको छैन । नेपाल सरकारको शसर्त अनुदानअन्तर्गत आर्थिक वर्ष २०७९–८० को स्वीकृत कार्यक्रमअनुसार स्यानिटरी प्याड खरिदका लागि विराटनगरको जसमिन हाइजिङ प्रोडक्ट प्रालिसँग मिति २०८० असार १२ मा सम्झौता भएको थियो । 


नगरपालिकाले उक्त कम्पनीसँग गरिएको खरिद सम्झौतामा ३३ हजार २ सय २५ प्याकेट (प्रति प्याकेट ८ वटा) का लागि प्रतिप्याकेट ३६.२८ दरले जम्मा १२ लाख ५ हजार ४ सय ३ भुक्तानी गर्नुपर्ने हुन्छ । खरिद सम्झौताअनुसार प्याडको स्पेशिफिकेशन लम्बाइ २८० मिमि, चौडाइ ७० मिमि र अल्टाथिन गुणस्तरको हुनुपर्ने उल्लेख छ । 


सप्लायर्स कम्पनीले सम्झौता बमोजिमको खरिद सामग्री उपलब्ध गराउनेक्रममा नियमित प्रक्रिया पूरा नगरी शिक्षा अधिकृत विष्णुप्रसाद तिवारीसँग मात्र सम्पर्क गरी स्यानेटरी प्याड बुझाएको थियो । खरिद भुक्तानी रकम माग गर्ने कम्पनीले नगरपालिका कार्यालयको खरिद एकाइ, जिन्सी शाखा, शिक्षा शाखाका अन्य कर्मचारी, कार्यालय प्रमुखलगायत कसैसँग समन्वय गरेको थिएन । 


कसैसँग समन्वय नै नगरी सप्लायर्सबाट बुझिएको स्यानिटरी प्याड नगरपालिकाको एक कोठामा भण्डार गरिएको थियो । भण्डार गरिएको स्यानिटेरी प्याडको नमूना हेर्दा चार प्रकारका देखिएको, कम सङ्ख्या साथै कतिपय प्याड सम्झौताविपरीतको रहेको पाइएपछि प्रशासकीय अधिकृत चण्डीका पौडेलले छानविन समिति गठन गर्नुभएको थियो । 


नगरपालिकाका सूचना अधिकारी ध्रुवराज पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन भएको थियो । छानबिन समितिले तयार पारिएको छानबिन प्रतिवेदनअनुसार सप्लायर्स कम्पनिसँगको मिलेमतोमा शिक्षा अधिकृत विष्णुप्रसाद तिवारीले खरिद सम्झौतामा उल्लेखित स्पेसिफिकेशनभन्दा फरक किसिमको समेत गरी सम्झौतामा उल्लेखित परिमाणभन्दा कम परिमाणमा सप्लाई गरी भुक्तानी माग गरिएको थियो । 


छानविन प्रतिवेदनमा कम्पनीले सप्लाई नगरेको नपुग परिमाणका सामग्रीहरु कार्यालयभन्दा अन्यत्र भण्डारण गरिएको अन्य सरोकारवाला शाखासँग कुनै समन्वय नगरी एक्लै सामान बुझिलिएको हुँदा शिक्षा अधिकृत शाखा प्रमुख तिवारी सप्लायर्सको मतियार भएको देखिने बताइएको छ । 


सम्झौताअनुसार सेनिटरी प्याडको लम्वाइ २८० मिमि हुनुपर्नेमा भण्डार गरिएको प्याडको लम्बाइ २३० मिमि मात्रै रहेको र एउटा प्याडभित्र ८ पिस हुनुपर्नेमा ६ पिस मात्र भएको पाइएको छ । भण्डारमा पाइएको स्यानिटरी प्याड सम्झौता संख्याभन्दा धेरै कम जम्मा १६ हजार ६ सय ७५ छ ।


सम्झौताअनुसार स्यानिटेरी प्याड उपलब्ध नभएपछि नगरपालिकाले रकम भुक्तानी नगरेको सूचना अधिकारी ध्रुवराज पौडेलले बताउनुभयो । सूचना अधिकारी पौडेलका अनुसार सामुदायिक विद्यालयका छात्रालाई यस आर्थिक वर्ष नगरपालिकाले स्यानिटेरी प्याड वितरण गरेको छैन । 


स्यानिटरी प्याड खरिदमा आर्थिक चलखेल गर्ने शिक्षा अधिकृत तिवारीलाई मेयर रामचन्द्र जोशीको विशेष सक्रियतामा अहिले कार्यकारी प्रशासकको जिम्मेवारी दिइएको छ । सेनिटरी प्याड खरिदको सम्वन्धमा प्रशासकीय अधिकृत तिवारीले भन्नुभयो, “पोहोर टेण्डरको विवादले खरिद गर्न सकिएको थिएन । अब भने छिटै नै खरिद प्रक्रिया अगाडि बढाइनेछ ।” प्रनिश गिरीले गोरखापत्रमा समाचार लेखेका छन्  ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :