अर्बौं रुपियाँको अवैध वस्तुहरूको लिलामी प्रक्रिया सुरु - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

अर्बौं रुपियाँको अवैध वस्तुहरूको लिलामी प्रक्रिया सुरु - Gandaki Express


वीरगञ्जको भन्सारस्थित सुख्खा बन्दरगाहमा ३ अर्ब रुपियाँभन्दा बढीको अवैध वस्तुहरू बरामद भएपछि भन्सार विभागले त्यसको लिलामी प्रक्रिया थालेको छ।

भन्सार विभागले बरामद भएका ३ अर्बभन्दा बढी मूल्यका सामानहरू लिलाम गर्न भन्दै दोस्रोपटक गत ३० फागुनमा लिलाम बिक्रीसम्बन्धी सूचना जारी गरेको हो।

यसअघि भन्सारले गत १३ फागुनमा पहिलोपटक लिलामको सूचना जारी गरेको थियो। तर, त्यसपटक लिलामी प्रक्रिया सफल नभएपछि भन्सारले सामानको मूल्य केही घटाएर दोस्रोपटक सूचना आह्वान गरेको हो ।

भन्सार विभागले सुख्खा बन्दरगाहमा सेटिङमा अवैध वस्तु ल्याउने व्यक्तिहरूको बारेमा भने कुनै पहिचान गर्न सकेको छैन। सेटिङकर्ताहरूले सेटिङमार्फत् ल्याएको ३ अर्ब रुपियाँको सामान फुत्काउने सेटिङ भत्किएपछि अलपत्र परेको थियो।

त्यसरी अलपत्र परेका वस्तुहरूको भन्सारले लिलाम प्रक्रिया थाले पनि सेटिङ गरेर अवैध सामानहरू ल्याउने को हुन् भन्ने बारेमा भने विभागले अहिलेसम्म खासै खोजतलास गर्न सकेको छैन। भन्सार विभागका महािनर्देशक शोभाकान्त पौडेलले भने अवैध रूपमा ल्याइएका ३ अर्बभन्दा बढीका सामानहरू बरामद गरेर लिलाम प्रक्रिया थालिएको र त्यससँगै त्यस्ता सामानहरू ल्याउनेको पनि खोजतलास थालिएको बताउनुभयो ।

अवैध सामानहरू ल्याउनेका बारेमा विभागले छानबिन समिति नै बनाएर छानबिन गरिरहेको जानकारी दिँदै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हाम्रो छानबिन समितिले गहिरो छानबिन गरिरहेको छ, अवैध सामानहरू ल्याउनेहरू ढिलो चाँडो कानुनी दायरामा आउनेछन्।’

यद्यपि, छानबिन समितिले अवैध सामानहरू ल्याउनेहरूको बारेको छानबिनलाई तीव्रता दिन नसकेको बताइएको छ। स्रोतका अनुसार ३ अर्बभन्दा बढीका अवैध सामानहरू ल्याउनेमा ठूलै गिरोह सक्रिय रहँदै आएको छ।

सो बन्दरगाहमार्फत् कर्मचारी, बिचौलिया र उच्च राजनीतिक नेतृत्वको सेटिङमा लामो समयदेखि प्रतिबन्धित र अवैध सामानहरू ल्याउने क्रम जारी रहँदै आएको पनि स्रोतको दाबी छ । स्रोतका अनुसार सो गिरोहले सेटिङ गरी ती समानहरू बाहिर निकाल्ने गरेका थिए । यसअघि सो गिरोहले यसरी नै अर्बौं मूल्यका वस्तुहरू ल्याएर बाहिर निकाल्न सफल भएको स्रोतको दाबी छ।

यसरी अर्बौं मूल्यका अवैध सामानहरू सुख्खा बन्दरगाहबाट बाहिरिन थालेपछि केहि महिनाअघि मात्रै त्यसको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले त्यस सम्बन्धमा छानबिन गरी यथार्थ पत्ता लगाई कारबाही गर्न भन्सार विभागलाई निर्देशन दिएपछि भन्सार विभागले छानबिन र अनुसन्धान थालेको थियो । त्यसपछि मात्रै सुख्खा बन्दरगाहमा ३ अर्बभन्दा बढी मूल्यका अवैध वस्तुहरू आएको तथ्य फेला परेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र भन्सार विभागको सक्रियताले अवैध किसिमले ल्याउन लागिएका ३ अर्ब मूल्य बराबरका वस्तुहरू बरामत भएका थिए।

भन्सार विभागको छानबिन समितिले सामान बरामत भए पनि त्यसरी सामान ल्याउने गिरोहमा संलग्नहरूको खोजतलासमा तीव्रता दिन सकेको छैन । सामानहरू ल्याउदा एलसी खोल्नुपर्ने र विभिन्न कागजी प्रक्रिया अपनाउनु पर्ने हुँदा ती कागजातको आधारमा गिरोहमा संलग्नहरू सजिलै पत्ता लाग्ने भए पनि त्यस बारेमा भन्सार नेतृत्व तथा अर्थ मन्त्रालयले चासो दिएको पाइएको छैन।

भन्सार विभागले छानबिन गर्न नसके सुख्खा बन्दरगाहमा सेटिङ गर्ने गिरोहका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत छानबिन हुनुपर्ने देखिएको छ । भन्सार विभागका अधिकारीहरूले अनुसार मुख्य गिरोहले अर्कै व्यक्तिको नाममा फर्म खोलेर नक्कली कागजात बनाएकाले मुख्य गिरोह खोज्न कठिन भएको बताउदै आएका छन् । ‘तर पनि वस्तु ल्याउनेहरूको सबै डकुमेन्ट मागिरहेका छौं, बद्मासी गर्नेहरू कोही पनि छुट्दैनन् । ’भन्सार विभागका महानिर्देशक पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

विभागका अनुसार अवैध किसिमले ल्याइएका र बरामद गरिएका वस्तुहरूमा सुपारी ३५० मेट्रिक टक , पोस्तादाता १५० मेट्रिक टन, छोकडा ५ सय मेट्रिक टन रहेका छन्। ती सामानहरूको मूल्य करोडौं रहेको छ।

यसै गरी ५ करोड ५५ लाख मूल्य बराबरको १३ हजार ९ सय ५ लिटर रसियन डाइमन्ड रक्सी, ४ करोड २७ लाख मूल्य बराबरको १० हजार ७ सय ५ लिटर रोयल मक्सा तथा १२ करोड मूल्य बराबरको ४५ हजार लिटर वाइनसमेत बरामत गरी लिलाम प्रक्रिया थालिएको भन्सार विभागले जनाएको छ।

विभागका अनुसार ठुलो परिमाणमा बरामत भएका कालो दाल, मसुरो, कार्पेट, फेव्रिक, मास्कसमेतको लिलाम प्रक्रिया थालिएको छ।

स्रोतका अनुसार केही व्यापारी र बिचौलियाले सेटिङ गरी ती सुपारी, पोस्तादाना, रक्सी, छोकडा र मरिचहरू ल्याएका थिए। उनीहरूले भन्सारका कर्मचारीलाई प्रभावमा पारी ती सामानहरू उम्काउन खोजे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष निगरानी र भन्सारलाई दिइएको निर्देशनका कारण सामान उम्काउने प्रयास असफल भएको थियो।

सुख्खा बन्दरगाह भन्सार कार्यालयको यार्ड र गोदाममा विभिन्न पैठारीकर्ताले आयात प्रतिबन्ध रहेका र एउटा वस्तुलाई अर्कै भनी ल्याएर लुकाएका ती वस्तुहरू भन्सार विभागको सर्च टोलीले फेला पारेको खबर नेपाल समाचारपत्रमा छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :