गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजाले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिका लागि तोकिएको सुरक्षासँगै अतिरिक्त सुविधा पनि लिँदै आएका थिए। तर, सरकारले अब पूर्वराष्ट्रपतिले पाउने सुरक्षासुविधा अनुरूप सङ्ख्या कटौती गर्ने निर्णय गरेको छ।
पूर्वअतिविशिष्ट व्यक्तिहरूका लागि सरकारले सशस्त्र प्रहरी बलको कार्यदलमार्फत प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा १६ जना सुरक्षाकर्मी खटाउने व्यवस्था गरेको छ। तर, पूर्वराजा ज्ञानेन्द्रका लागि यसअघि २५ सुरक्षाकर्मी खटाइएका थिए। अब उक्त सङ्ख्या घटाएर १६ पुर्याइएको छ।
त्यसैगरी, गृह मन्त्रालयले पूर्वराजाको सुरक्षाका लागि खटाइएको युनिटसमेत परिवर्तन गरेको छ। यसअघि सशस्त्र प्रहरी बलका जगदीश हमालको नेतृत्वमा रहेको सुरक्षा टोली हटाएर अब नायब उपरीक्षक प्रमोदप्रकाश पाठकको नेतृत्वमा १६ जना सुरक्षाकर्मी तैनाथ गरिने भएको छ।
सरकारले सबै पूर्वविशिष्ट व्यक्तिहरूलाई समान सुरक्षा व्यवस्था दिने नीतिअनुसार यो निर्णय गरेको बताइएको छ। काठमाडौँको तीनकुनेमा शुक्रबार राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले पूर्वराजासम्बन्धी गतिविधिमाथि निगरानी बढाउँदै कानुनअनुसार प्राप्त सुविधा कटौती गर्ने तयारीसमेत गरिरहेको छ।