बारा, असार १६ गते । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जङ्गलमा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटनामा परेका चालकको तीन घण्टापछि उद्धार गरिएको छ ।
आइतबार राति एउटै दिशाबाट जाँदै गरेको दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्टेरिङमा च्यापिएका चालकलाई ट्रकको झ्याल काटेर तीन घण्टापछि निकालिएको हो ।
दुर्घटनमा परी चितवन जिल्लाको भरतपुर उपमहानगरपालिका–१६ बस्ने अन्दाजी ३५ वर्षीय चालक अरुण श्रेष्ठ घाइते हुनुभएको हो ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको कमाण्डमा खटिएको सुरक्षा फौजले उहाँको उद्धार गरेको हो ।
हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ३७६३ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै ट्रक सडकको बायाँतर्फको साइडमा पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका श्रेष्ठ ना ६ ख ३७६३ नम्बरको ट्रकको चालक हुनुहुन्छ ।
उद्धार पश्चात् उहाँलाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडातर्फ पठाइएको छ भने अर्का ट्रकका चालक भने सामान्य हुनुहुन्छ । दुवै ट्रकमा चालक बाहेक अन्य कोही नरहेको बताइएको छ ।