कृष्ण भिरमा पहिरोको जोखिम कायमै, एकतर्फी मात्रै सवारी सञ्चालनमा

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

कृष्ण भिरमा पहिरोको जोखिम कायमै, एकतर्फी मात्रै सवारी सञ्चालनमा




धादिङ — धादिङको पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भिर क्षेत्रमा पहिरोले सडक भासिएपछि हाल सवारी एकतर्फी मात्र सञ्चालनमा छ। निरन्तर वर्षासँगै सक्रिय बनेको पहिरोका कारण सडकमा चिरा परेर जमिन धसिएको छ।

सडक विभागका अनुसार पहिरो रोकथामका लागि अहिले माइक्रोपाइलिङ प्रविधिमार्फत फलामे बीम राख्ने काम सम्पन्न भइसकेको छ। तर, रक एंकरिङका लागि आवश्यक फलामे डण्डी भारतबाट ल्याउनु पर्ने भएकाले काममा केही ढिलाइ भएको जनाइएको छ।

विभागले अब स्थायी समाधान हुने प्रविधिको प्रयोग गर्दै पहिरो नियन्त्रण कार्य तीव्र रुपमा अघि बढाइरहेको जनाएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पानीको मात्रा अझै बढ्न सक्ने भन्दै पहिरो थप सक्रिय हुन सक्ने चेतावनी दिएका छन्। उहाँले समयमै काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

प्राविधिकहरूको भनाइ अनुसार, अहिले कृष्ण भिर क्षेत्रमा पहिरो नियन्त्रणको पहिलो चरणको काम भइरहेको छ र असार महिनाभित्रै सो चरणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

करीब ८० मिटर क्षेत्रफलमा सक्रिय पहिरो देखिएको छ। यस स्थानमा करिब २० वर्षअघि रोकिएको पहिरो पुनः सक्रिय बनेको हो। त्यसैलाई ध्यानमा राखेर हाल माइक्रोपाइलिङ प्रविधिबाट पहिरो नियन्त्रण प्रयास भइरहेको हो।

हालसम्म फलामे बीम राखिएको छ भने जमिन मुनिको ढुंगामा ३० मिटरसम्म होरिजन्टल ड्रिलिङ गरी रक एंकरिङ गर्ने तयारी भइरहेको छ। प्राविधिकहरूको विश्वास छ— काम सम्पन्न भएसँगै अब कृष्ण भिरमा पहिरोको समस्या दीर्घकालीन रूपमा समाधान हुनेछ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :