पाल्पा, असार २४ – अनलाइन संवाददाता
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल खण्डको सिद्धबाबा मन्दिर नजिकै मंगलबार बेलुका खसेको पहिरोले एक जनाको मृत्यु र एक जना घाइते भएको घटना सार्वजनिक भएको छ।
रामपुर नगरपालिका–५ का ३६ वर्षीय जनक भण्डारीको पहिरोले पुरिएर ज्यान गएको हो। उनी लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा पाल्पाबाट बुटवलतर्फ जाँदै गर्दा अचानक खसेको पहिरोमा परेका थिए।
घटनामा गम्भीर घाइते भएका भण्डारीलाई तत्कालै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लले जानकारी दिनुभयो।
श्रीमती कल्पना चापागाईं घाइते
मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २९ वर्षीया कल्पना चापागाईं भने दुर्घटनामा घाइते भएकी छन्। उहाँको अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।
सडक सुचारु, राति सवारीमा रोक
वर्षासँगै पहिरो खसेपछि केही समयका लागि अवरुद्ध भएको तानसेन–बुटवल सडकखण्ड अहिले पहिरो हटाएर सुचारु गरिएको छ।
घटनापछि बसेको जिल्ला सुरक्षा समितिको बैठकले पाल्पामा विपद्जन्य जोखिम न्यूनीकरणका लागि मुख्य र सहायक राजमार्गमा अत्यावश्यकबाहेक रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। सो निर्णय कार्यान्वयनमा ल्याइसकिएको जानकारी दिइएको छ।
वर्षासँगै पहिरोको जोखिम
पाल्पा, बुटवल र तानसेन क्षेत्रहरूमा वर्षासँगै पहिरोको जोखिम बढिरहेको बेला भएको यो घटना यात्री र सवारी चालकहरूका लागि चेतावनीको संकेत बनेको छ।
प्रशासनले सबै यात्रु र चालकहरूलाई विपद् जोखिमयुक्त स्थानहरूमा यात्रा गर्दा सतर्कता अपनाउन र सम्भव भएसम्म रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ।