असार ३१ गते । रुपन्देहीको बुटवलमा नक्कली नेपाली मुद्रा छाप्ने गिरोहको पर्दाफास गर्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट एक हजार दरका ५८१ थान नक्कली नेपाली नोट, नोट छाप्ने उपकरण तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार असार २६ गते गंगा कुमारी पूर्वछानेले एक व्यक्तिलाई क्यूआरमार्फत २ हजार १०० रुपैयाँ पठाउन लगाएर साटोमा एक हजार दरका दुई थान र एक सय दरको एक थान नोट दिएकी थिइन्। तीमध्ये एउटै सिरियल नम्बर भएका दुई हजारका नोट नक्कली रहेको किनमेलका क्रममा खुलेपछि पीडितले असार २८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए।
उक्त उजुरीपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले ‘अपरेसन चार्ली (Operation Charlie)’ सञ्चालन गरेको थियो।
प्रहरीले गंगा कुमारी पूर्वछानेलाई पक्राउ गरी उनको घरमा खानतलासी गर्दा एक हजार दरका १०३ थान नक्कली नोट बरामद गरेको थियो। अनुसन्धानका क्रममा कास्की पोखरा महानगरपालिका–१ निवासी कृष्ण भन्ने किरण कृष्ण तिवारीको संलग्नता खुलेपछि उनलाई पनि पक्राउ गरिएको थियो। उनको साथबाट एक हजार दरका ४७८ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।
थप अनुसन्धानका क्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका–१ निवासी रामचन्द्र खत्रीको संलग्नता पुष्टि भएपछि उनलाई पनि पक्राउ गरिएको थियो। खत्रीको बयानका आधारमा प्रहरीले बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित भाडाको घरमा नक्कली नोट छाप्ने फ्याक्ट्री सञ्चालन हुँदै आएको खुलासा गरेको हो।
उक्त स्थानमा गरिएको खानतलासीका क्रममा प्रहरीले फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, नक्कली नोट काट्ने मेसिन तथा नोट छाप्न प्रयोग हुने प्रिन्टर बरामद गरेको छ।
यस प्रकरणमा गंगा कुमारी पूर्वछाने, किरण कृष्ण तिवारी, रामचन्द्र खत्री, कपिलवस्तुका सञ्जय थारु, दोलखाका पासाङ तामाङ तथा भारत पश्चिम बंगाल सिलिगुडीका बासुमित्र आनन्द पक्राउ परेका छन्।
पक्राउ परेका सबैलाई रुपन्देही जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

