स्याङ्जा, मङ्सिर १२ गते । चार वर्षदेखि फरार रहेका स्याङ्जाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागु औषध हिरोइन मुद्दामा संलग्न रही चार वर्षदेखि फरार गुल्मीको कालिगण्डकी गाउँपालिका २ घर भई हाल स्याङ्जाको फेदीखोला गाउँपालिका २ उपल्लो कुँडुले बस्ने ४४ वर्षीय रेशम थापा मगरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाका अनुसार फरार रहेका मगरलाई लुकीछिपी बसेको अवस्थामा फेदिखोलाबाट मङ्गलवार पक्राउ गरिएको हो ।
लागु औषध (ब्राउन सुगर) हिरोइन मुद्दामा स्याङ्जा जिल्ला अदालतले २०७६ असार १ गतेको फैसला अनुसार थापालाई ५ वर्ष कैद र दश हजार जरिवाना तोकिएकोमा सोही समयदेखि उनी फरार रहेका थिए । प्रहरीका अनुसार निजलाई कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ ।