सेवाग्राहीको सेवा नगरी लोकसेवाको परीक्षाको तयारीमा व्यस्त सरकारी कर्मचारी

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

सेवाग्राहीको सेवा नगरी लोकसेवाको परीक्षाको तयारीमा व्यस्त सरकारी कर्मचारी

सांकेतिक तस्विर


काठमाडौँ, फागुन १४ गते । सेवाग्राहीको सेवाका लागि सरकारी सेवामा प्रवेश गरेका कतिपय निजामती कर्मचारी कार्यकक्षमै परीक्षाको तयारी गरेर बस्ने गरेका छन् । सरकारी सेवामा प्रवेश गरेपछि कतिपय कर्मचारीले आफ्नै वृत्ति विकास र सेवा सुविधाका लागि मात्रै समय खर्चिने गरेको पाइन्छ । 


परीक्षा तयारी गर्नकै लागि सेवाग्राहीको चाप कम हुने हुलाक कार्यालय, सिँचाइ डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, वन तथा वातावरण मन्त्रालय, विभिन्न आयोगलगायतका कार्यालयमा सरुवा हुनका लागि भनसुनसमेत गर्ने गरेका छन् । लोक सेवा आयोगले विभिन्न समयमा खुलाउने खुला तथा आन्तरिक प्रतिस्पर्धाका लागि कतिपय कर्मचारी बिदामा बसेर परीक्षाको तयारी गर्छन् भने कतिपय कर्मचारी कार्यकक्षमा नै बसेर परीक्षाको तयारी गर्ने गरेका कर्मचारी नै स्विकार्छन् । 


नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले कतिपय सङ्घीय कार्यालयमा कार्यरत कर्मचारी परीक्षाको तयारीका लागि कार्यकक्षमै बसेर परीक्षाको तयारी गर्ने गरेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “केही कार्यालयमा कतिपय कर्मचारी कार्यकक्षमै अध्ययन गरेर बसेको पाइन्छ तर हामीले परीक्षाको तयारी गरेर बस्नुपर्दा बिदा लिएर बस्नु भनेका छौँ । सेवाग्राहीको कामलाई बाधा पारेर कुनै पनि कर्मचारीले आफ्नो वृत्ति विकासका लागि मात्र समय दिनु हुँदैन ।” 


उहाँका अनुसार सङ्घीय निजामती सेवा ऐनको अभावमा अहिले १७ वर्षसम्म पनि कतिपय कर्मचारीको बढुवा नहुँदा त्यसको असर परीक्षाको तयारी गर्ने क्रममा सेवाग्राहीसम्मलाई पर्न गएको हो । कम्तीमा छदेखि सात वर्षमा एक तह बढुवा हुने स्थिति भयो भने कर्मचारी परीक्षाकै लागि कार्यालयमा नै बसेर वा बिदामा बसेर पढ्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ । 


कारागार कार्यालय सुन्धारामा कार्यरत उपसचिव ललित बस्नेतले निजामती कर्मचारी माथिल्लो पदमा जानका लागि कतिपय कार्यालयमै बसेर पढ्ने प्रवृत्ति अहिले पनि कायम रहेको बताउनुभयो । उहाँले सरकारले कानुन निर्माण गरेर बहालवाला कर्मचारीलाई माथिल्लो पदमा जानका लागि आन्तरिक प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था भयो भने बल्ल कर्मचारीले पढेरै मात्र बस्ने प्रवृत्तिको अन्त्य हुने बताउनुभयो ।  


उहाँले भन्नुभयो, “सेवाग्राही र सरकारको काममा बाधा पु¥याएरै त कुनै पनि कर्मचारीले कार्यालयमै वा कार्यालयबाहिर बसेर पढेका छैनन् तर माथिल्लो पदमा जानका लागि भने कर्मचारीले काममा बाधा नपारी कार्यालयमा बसेर पढ्ने गरेका छन् ।”


बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले निजामती सेवा ऐनकै कमजोरीका कारण कर्मचारीमा स्वअध्ययन गर्ने प्रवृत्ति बढ्दै गएकाले ऐनमा नै सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 


उहाँले भन्नुभयो, “शैक्षिक योग्यता भएका कर्मचारीले पनि खरिदार, नासु वा शाखा अधिकृत पदबाट सेवा प्रवेश गरेपछि उपसचिव वा सहसचिव पदमा र अन्तरसेवा खुला प्रतिस्पर्धाबाट जान पाउने व्यवस्थाको अन्त्य हुँदा मात्र कर्मचारीले पढेर बस्ने अवस्थाको अन्त्य हुन्छ । अन्यथा कर्मचारीले जुनसुकै समयमा स्वअध्ययन गर्ने प्रवृत्ति कायम रहन्छ ।” 


संसद्, प्रशासन, न्याय, वनलगायतका कतिपय सेवामा खुला प्रतिस्पर्धाबाट बहालवाला कर्मचारीले नै माथिल्लो पदमा नाम निकाल्दा तल्लो तहमा छिट्टै नै पद रिक्त हुने गरेको उहाँले बताउनुभयो । रिक्त पदमा पूर्ति गर्नका लागि पुनः लोक सेवाको प्रक्रियामा जाँदा करिब एक वर्ष नै समय लाग्ने गरेको छ । गोरखापत्र 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :