जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले सोमबार दुईवटा होटलमा छापा मारेर एक करोड १६ लाख २२ हजार रुपियाँसहित पाँचजनालाई पक्राउ गरिएको बताउनु भयो । आइतबार साँझ प्रहरीले ३९ लाख २० हजार रुपियाँसहित तीनजनालाई पक्राउ गरेको थियो ।
उहाँले नेपालगन्जबाट दुई दिनमा प्रहरीले स्रोत नखुलेको एक करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपियाँ र १५ लाख ४० हजार भारतीय रुपियाँ बरामद गरेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गाली होटलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपियाँ बरामद गरेको थियो ।
प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगन्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको एसपी बोहराले जानकारी दिनुभयो । उनीहरुको साथबाट भारतीय ११ लाख रुपियाँ पनि बरामद भएको एसपी बोहराले बताउनुभयो ।
त्यस्तै, बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगन्जका सलिम जोलाहा र आसिफ अन्सारीलाई ३४ लाख नेपाली रुपियाँ र चार लाख ४० हजार भारतीय रुपियाँसहित पक्राउ गरिएको एसपी बोहोराले बताउनुभयो ।