बजार अनुगमन गरी अखाद्य वस्तुहरू बिक्री वितरण गर्ने फर्म तथा संस्थाहरूलाई कारबाही गर्ने जिम्मेवारीमा रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत २०८० साल साउनदेखि २०८१ साल वैशाख ३ गतेसम्मको ९ महिनाको अवधिमा ८ सय ७३ वटा फर्महरू माथि कारबाही गरेको हो।
गलत कार्य गर्ने र अखाद्य तथा गुणस्तरहीन वस्तुहरू बिक्री वितरण गर्ने फर्महरूलाई कारबाही गरी जरिवाना गर्दा ३ करोड ३८ लाख रुपियाँ राजस्व प्राप्त भएको विभागले जनाएको छ।
यद्यपि, विभागले आफ्नो अनुगमनलाई अझै सशक्त पार्नुपर्ने सुझाव आम उपभोक्ता तथा सर्वसाधारणको रहेको छ। विभागका अनुसार सो अवधिमा विभागले ३६ सय ५३ वटा अनुगमन गरेको थियो। यसै गरी ७४ वटा फर्ममा छापा मारी अखाद्य तथा गुणस्तरहीन वस्तुहरू नष्ट गरिएको थियो। नष्ट गरिएका वस्तुहरू १ करोड १९ लाख ३७ हजार ९ सय ८१ मूल्य बराबर रहेका थिए।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले विगतका वर्षहरूमा भन्दा अनुगमन गर्ने क्रम र कारबाहीको संख्या बढाइएको जानकारी दिनुभयो। विभागले आर्थिक वर्ष २०७९/८० मा ५४९ वटा फर्मलाई कारबाही गरेको थियो तर चालू आर्थिक वर्ष २०८०÷८१ को फागुन महिनासम्म ८ महिनाको अवधिमा ८ सय ४२ वटा फर्महरू माथि कारबाही गरिएको थियो।
अघिल्लो एक वर्षको अवधिमा विभागले विभिन्न फर्महरूलाई १ करोड ५० लाखको जरिवाना गराएको थियो भने चालु आर्थिक वर्षको १० महिनाको अवधिमा मात्रै ८ सय ७३ वटा फर्महरूलाई कारबाही गरी ३ करोड ३८ लाख जरिवाना गराउन विभाग सफल भएको थियो। विभागमा महानिर्देशकको रूपमा चिलुवाल आएपछि विभिन्न फर्महरूमा अनुगमन गरी कारबाही गर्ने क्रम बढेको विभागका कर्मचारीहरूको भनाइ छ।
यो कुराको पुष्टि विभन्न तथ्य र आकडाले पनि गरेको पाइएको छ। अघिल्लो वर्ष बजार अनुगमनका क्रममा जम्मा ८ सय ४२ वटा टोलीहरू परिचालन भएका थिए भने चालु आर्थिक वर्षको हालसम्म अनुगमनका लागि ११ सय ८ वटा अनुगमन टोली परिचालित भएका छन्। यसै गरी गत आर्थिक वर्षमा २६ सय ३२ फर्महरूमाथि अनुगमन भएको थियो भने चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ३६ सय ५३ वटा फर्ममाथि अनुगमन भएको थियो।
विभागका महानिर्देशक चिलुवालले चालु आर्थिक वर्षमा अनुगमनलाई तीव्रता दिइएको दाबी गर्नुभयो। उहाँले बजार अनुगमन, निरीक्षण, जाँचबुझ र अनुसन्धान गरी स्वच्छ बजार प्रवद्र्धनका साथै सहज आपूर्ति व्यवस्थापन गर्दै उपभोक्ता अधिकारको संरक्षण गर्ने कार्यलाई तीव्रता दिइएको जानकारी दिनुभयो। महानिर्देशक चिलुवालले बजारमा सम्भावित जोखिमका २३ वटा विषयगत क्षेत्रहरू पहिचान गरी सघन रूपमा बजार अनुगमन गरिएको बताउनुभयो । साथै विभागले यस अवधिमा सेल फर नेपाल वान्ली लेखिएका केही विदेशी उत्पादनका खाद्य वस्तुहरू, आयोडिन नुन तथा केही ब्रान्डका तेलहरूको प्रयोगशालासमेत परीक्षण गरेको थियो ।
विभागले बजेटरी बाहेकका केही महत्वपूर्ण प्रयाससमेत आफ्नै साधन स्रोतका आधारमा अघि बढाएको जनाएको छ। जसअनुसार विभागको ५ वर्षे रणनीतिक योजनाको अवधारणापत्र स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरिएको छ भने इन्टिलिजेन्समा आधारित बजार अनुगमनसम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदासमेत तयार पारेको खबर नेपाल समाचार पत्रमा छ।