पोखरा - कास्की प्रहरीले अवैध रूपमा ल्याउँदै गरेको चाँदीका गरगहना सहित १ जनालाई पक्राउ गरेको छ ।
सोमबार दिउसो २ बजेको समयमा भारत पूर्वी चम्पारण जिल्ला सुगौली थाना वडा नं. १० स्थायी वतन भई हाल पोखरा महानगरपालिका वडा नं.९ नयाँ बजार बस्ने वर्ष ३५ का चन्द्र भूषण प्रसादलाई चाँदीका गरगहना सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं.३२ मजुवा स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्दा पोखरातर्फ आउँदै गरेको मिनिबसबाट भूषणलाई पक्राउ गरेको हो ।
पछाडि भिरेको झोलाभित्र निलो सेतो प्लास्टिकमा पोका पारी लुकाई छिपाई ल्याएको अवस्थामा विभिन्न किसिमका चाँदीका गरगहना ५ किलो ६९० ग्राम सहित फेला पारेको र सो सम्बन्धमा प्रमाण खुल्ने कुनै कागजात (बिल) समेत नभएको हुँदा निजलाई उक्त गरगहना सहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाईको लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
उनको साथबाट चाँदी जस्तो देखिने सेतो धातुको बुट्टावाला पाउजु १४० (एक सय चालिस) थान, झल्लार पाउजु १९२ (एक सय बयानब्बे) थान, सादा पाउजु १२५ (एक सय पच्चिस) थान, चन्द्रमा ५ (पाँच) थान, साडी पिन ११ (एघार) थान, पाउजुको लक हुक ४९८ (चार सय अन्ठानब्बे) थान सँगै जम्मा एकमुष्ट तौल ५ किलो ६९० ग्राम (पाँच किलो छ सय नब्बे) ग्राम अवैध तयारी गहना र १ थान मोबाइल सेट बरामद भएको छ ।