काठमाडौं — काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट करिब रु २५ करोड २२ लाख ४५ हजार बराबरको विदेशी मुद्रा बरामद गरेको छ। बरामद गरिएको रकम नेपाल राष्ट्र बैंकले सोमबार निर्धारण गरेको विनिमय दरअनुसार मूल्याङ्कन गरिएको हो।
राजस्व छली गरी विदेशी मुद्रा ओसारपसार गरिएको सूचना पाएपछि प्रहरीले टोखा नगरपालिकाको झोर क्षेत्रबाट सोमबार बेलुका उक्त रकम फेला पारेको हो। टोलीले ना७ख १६५१ नम्बरको मालवाहक ट्रकबाट रकम बरामद गरेको जनाइएको छ।
प्रहरीका अनुसार ट्रकको चालक बस्ने ठाउँमा ‘फल्स बटम’ (नक्कली सतह) बनाइ लुकाएर मुद्रा ओसारिएको थियो। उक्त ट्रकका चालक, ४३ वर्षीय कुसाङ लामा (भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक) लाई पक्राउ गरिएको छ।
पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार, बरामद विदेशी मुद्रामा रहेका छन्:
- अमेरिकी डलर १०० दरका – ३,११९ थान
- अमेरिकी डलर ५० दरका – १७९ थान
- युरो ५०० दरका – ११ थान
- युरो २०० दरका – ४८० थान
- युरो १०० दरका – ४,१४८ थान
- युरो ५० दरका – १७,१७७ थान
प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, पक्राउ परेका व्यक्तिसहितको विषयमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभागलाई जिम्मा दिइएको छ।