✍️ गण्डकी एक्सप्रेस | पोखरा, चैत ५
पृथ्वीनारायण क्याम्पस, पोखरामा सोमबारका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको छ। मतदान सुरु हुनै लाग्दा प्रत्यक्ष प्रणालीतर्फको मतपत्रमा भएको सानो तर संवेदनशील गल्तीले निर्वाचन स्थगनको स्थिति निम्त्याएको हो।
मतपत्रको दोस्रो कोलममा रहेका अखिल (छैठौं)का अध्यक्ष पदका उम्मेदवारको नाम पछाडि रेजा लगाउने बाकस छुटिएको पाइएपछि मतदान सुरु हुन सकेन। निर्वाचन समितिले उक्त त्रुटिलाई गम्भीर आत्मआलोचनासाथ स्वीकार गर्दै तत्काल मतपत्र रद्द गरी नयाँ छपाइ प्रक्रिया अघि बढाएको जनाएको छ।
निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलद्वारा जारी सूचनामा भनिएको छ, “सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल तथा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिहरूको रायअनुसार नयाँ मतपत्र छपाइ गरिएको हो। तर समय अभावका कारण आजको मतदान प्रक्रिया सम्भव भएन।”
अब स्थगित भएको निर्वाचन कार्य मिति २०८१ साल चैत ६ गते, बुधबार बिहान ८:०० बजे सुरु हुने सूचनामा उल्लेख छ।
निर्वाचन स्थगनको औपचारिक सूचना जारी गरिए पनि बिहानैदेखि क्याम्पस गेटमा विद्यार्थीहरूको बाक्लो भिड देखिएको थियो। सूचना प्रवाहमा ढिलाइ भएको कारण कतिपय विद्यार्थी अझै मतदान हुने आशामा लाइनमा उभिएका थिए भने केही प्यानल समर्थकहरू बीच तर्क–वितर्क समेत देखियो।
वातावरण केहीबेर तनावग्रस्त जस्तो देखिए पनि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो। उम्मेदवारहरूको टोलीले पनि आफ्ना समर्थकहरूलाई संयमित रहन आग्रह गरेका थिए।
छात्र नेताहरूले मतपत्रको गल्तीप्रति निर्वाचन समितिको कमजोरी औंल्याउँदै भविष्यमै यस्ता लापरवाही नहोस् भनेर कडा निगरानी गर्नुपर्ने माग समेत राखेका छन्।