निलप्रसाद रेग्मीको घर आगोले पूर्ण रूपमा खरानीमा परिणत भएको छ। घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगदसहितका सबै सामग्री जलेर नष्ट भएको पूर्व वडासदस्य रुद्र पुलामीले जानकारी दिए। डण्डपाणी रेग्मीको घरमा भने आगो फैलिंदै गर्दा स्थानीयबासीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो।
पुलामीका अनुसार गाउँमा रहेका अधिकांस व्यक्ति जेष्ठ नागरिक र बालबालिका मात्र भएकाले आगलागी नियन्त्रणमा कठिनाइ भएको थियो। “घरमै आगो पसे पनि निभाउने मान्छे थिएनन्,” उनले दुखेसो पोखे।
आगो दिउँसो १ बजे जंगलमा सुरु भई ३ बजे पात्लेखेतको बस्तीमा पसेको थियो। बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको सिमानामा रहेको जंगलबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आइसकेको छैन। आगो बस्ती नजिकै फैलिएकाले थप जोखिम कायमै रहेको र थप क्षति हुन सक्ने सम्भावना रहेको बताइएको छ।
हालसम्म मानवीय तथा पशुधनको क्षति नभएको जनाइएको छ। यद्यपि आगलागीबाट भएको सम्पूर्ण क्षतिको विस्तृत विवरण भने संकलन भइसकेको छैन।
स्थानीयबासी र सुरक्षा निकायहरू आगो नियन्त्रणमा जुटिरहेका छन् भने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।