बुधबार बिहान साढे ६ बजेतिर ग १ ज ५६१२ नम्बरको बोलेरो जिप सुङ्रेपानीबाट च्युरीबोटतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट झन्डै ६० मिटर तल खसेको थियो। दुर्घटनामा परी च्युरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत श्रेष्ठले जानकारी दिनुभयो।
जिपमा चालकसहित पाँच जना सवार थिए। दुर्घटनामा जिप चालक ३३ वर्षीय शेरबहादुर बिक, च्युरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे, २२ वर्षीय भीमप्रसाद गोतामे र यमिन्द्र रसाइली घाइते भएका छन्। तीमध्ये भीमप्रसाद र यमिन्द्रको अवस्था सामान्य रहेको छ भने गम्भीर घाइते चालक बिकलाई थप उपचारका लागि पोखरा पठाइएको छ। अन्य घाइतेहरूको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहयोगमा उद्धार कार्य गरिएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।