सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन्। पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाका अनुसार, सिचुवान एयरलायन्सले छेन्दुबाट पोखरा आउजाउ गर्ने गरी तीनवटा चाटर्ड उडानको योजना बनाएको छ। यिनै उडानहरूलाई आधार बनाएर भविष्यमा नियमित उडान सुरु गर्ने तयारी पनि गरिएको छ।
हाल चाटर्ड उडानको भाडादर ६२ हजार रुपैयाँ तोकिएको छ भने तीनवटा उडानपछि नियमित उडानको तालिका र भाडा सार्वजनिक गरिने एयरलायन्सले जनाएको छ। सापकोटाले पोखरा–छेन्दु उडानले पोखराको पर्यटन क्षेत्रमा नयाँ सम्भावना थप्ने विश्वास व्यक्त गर्नुभयो।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले निजी पर्यटन व्यवसायीहरूको अग्रसरता, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास, सिचुवान एयरलायन्स र नेपाल चाइनिज एशोसिएशनबीचको सहकार्यबाट पहिलो चाटर्ड उडान सम्भव भएको जानकारी दिनुभयो। चीनको चाईना ट्राभल्स इन्टरनेशनल छेन्दुले प्रारम्भिक चरणको उडानमा सहकार्य गरिरहेको छ।
उहाँका अनुसार आगामी तीन महिनामा झण्डै १,२५० चिनियाँ पर्यटक सिधा पोखरा ओर्लने छन्, जसले गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
पहिलो उडानमा पोखरा महानगरका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईलगायत पर्यटन क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। आठ दिन लामो भ्रमणमा उनीहरूले सिचुवान प्रान्तको छेन्दु, लुझेउ, इमि, लिसन र छोङछिङ लगायतका सहरहरूको पर्यटन विकासबारे जानकारी लिनेछन्।
नेपाल पर्यटन बोर्ड र छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासको सहकार्यमा १९ र २२ मार्चमा क्रमशः छेन्दु र छाउछिङ सहरमा ‘नेपाल इभनिङ’ र ‘सेल्स मिसन’ कार्यक्रम आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख लामिछानेले यस्ता कार्यक्रमले पोखरा तथा नेपालकै पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
पोखरा महानगर प्रमुख आचार्यले यो उडानले आगामी ‘पोखरा भ्रमण वर्ष २०२५’ को सफलतामा टेवा पुर्याउनुका साथै पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्ने बताए।
उहाँले लुझेउ सहर पोखराको भगिनी सहर भएको र यो भ्रमणले दुई सहरबीचको सम्बन्ध थप सुदृढ हुने पनि उल्लेख गर्नुभयो।
पोखराका पर्यटन व्यवसायीहरूका अनुसार चिनियाँ पर्यटकलाई लक्षित गरी यहाँ पूर्वाधार तयार पारिएको छ। लकडाउनपछि पुनः सञ्चालनमा आएका होटल तथा रेष्टुरेन्टसँगै नयाँ संरचनाहरू थपिँदै गएका छन्। पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक भट्टराईले चिनियाँ पर्यटकहरू पोखरामा बसोबास, खानपान मात्र नभई बोटिङ, पदयात्रा, सपिङ, प्याराग्लाइडिङजस्ता साहसिक गतिविधिमा समेत सक्रिय हुने गरेको बताए।