विदेशमा मारिएकी छोरीको शव ल्याउन आमाको ११ महिनाको संघर्ष - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

विदेशमा मारिएकी छोरीको शव ल्याउन आमाको ११ महिनाको संघर्ष - Gandaki Express


चैत ४,

एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–४ की २५ वर्षीया तिलमाया सार्कीको शव आज नेपाल ल्याइँदैछ। वैदेशिक रोजगारीका लागि मलेसिया गएकी तिलमायाको गत वैशाख २९ गते एक पाकिस्तानी नागरिकद्वारा हत्या भएपछि शव नेपाल ल्याउन ढिलाइ हुँदै आएको थियो।


श्रीमान्‌सँग सम्बन्धविच्छेद गरी छ वर्षीया छोरीलाई आमाको जिम्मा लगाएर मलेसिया गएकी तिलमायाको शव ल्याउन ७० वर्षीया आमा धनमाया सार्कीले निरन्तर प्रयास गर्दै आएकी थिइन्। तर, हत्या अनुसन्धान नसकिएको भन्दै मलेसियन पक्षले शव पठाउन आलटाल गर्दै आएको थियो।


शव ल्याउन ढिलाइ हुँदा सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) को पहलमा प्रक्रिया अघि बढाइएको हो। परामर्शदाता रञ्जना लम्सालका अनुसार तिलमायाको शव बोकेको विमान सोमबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।


शव बुझ्न तिलमायाकी दिदी नीलमाया सार्की आइतबार नै काठमाडौँ पुगिसकेकी छन्। शव काठमाडौँबाट माइतीघर नवलपरासीको कावासोती–४, हसौरासम्म वैदेशिक रोजगार बोर्डको निःशुल्क शववाहनमार्फत आजै साँझ पुर्‍याइनेछ। शव ल्याउने सम्पूर्ण खर्च मलेसियन कम्पनीले व्यहोर्नेछ।


हत्या भएको खबर पाएदेखि आमा धनमायाले वडा कार्यालय, नगरपालिका र विभिन्न निकाय धाउँदै शव ल्याउन संघर्ष गर्दै आएकी थिइन्। लामो समयको प्रयासपछि शव ल्याउन लागिएको हो।


वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको एक वर्षभित्र आर्थिक सहयोगको निवेदन दिनुपर्ने हुन्छ। तिलमायाको परिवारले निवेदन दिइसकेको र बाँकी कागजात शवसँगै आइपुग्ने भएकाले पछि बुझाइने लम्सालले जानकारी दिइन्।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :