जिल्ला प्रहरीको तथ्याङ्कअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख मसान्तसम्म १३ जना महिलासहित ४७२ जना लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ परेकाहरू बिरुद्ध ३२९ वटा मुद्दा दर्ता गरिएको छ।
यस अवधिमा प्रहरीले
-
२,२८५ किलोग्राम गाँजासहित ११० जना
-
७७३ ग्राम ब्राउनसुगरसहित २१५ जना
-
करिब ७० हजार प्रतिबन्धित ट्याब्लेटसहित १४७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार, पक्राउ पर्नेहरू अधिकांश युवा छन्। तीमध्ये विराटनगर, रंगेली, बेलबारी, लेटाङ, उर्लाबारी, इटहरी र धरानका स्थानीयहरू मात्रै होइन, अन्य जिल्लाका तथा भारततर्फका केही व्यक्ति पनि समावेश छन्।
प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार, भारतसँगको सिमावर्ती नाका र संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी राखिएको छ। लागुऔषध ओसारपसारका प्रमुख मार्गहरू पहिचान गरी कडाइ गरिएको समेत उहाँले जानकारी दिनुभयो।
प्रहरीले हाल लागुऔषध विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन
-
सूचना सङ्कलन
-
सूचनादातालाई प्रोत्साहन
-
विद्यालय र क्याम्पस क्षेत्रलाई 'नो ड्रग्स क्क्क्क्क' घोषणा
-
सार्वजनिक सचेतना अभियानजस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ।
त्यस्तै, इन्टेलिजेन्स युनिटले पनि लक्षित अपरेशनहरू सञ्चालन गरिरहेको छ। प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अभिभावक, शिक्षक, युवा समूह र महिला संघसंस्थासँग सहकार्य गर्दै अभियानलाई अझ बलियो बनाएको छ।
यस अभियानले मोरङमा लागुऔषध कारोबारमा संलग्न समूहको नेटवर्क कमजोर पार्नेतर्फ ठोस सफलता मिलेको प्रहरीको दाबी छ। मोरङ प्रहरीले यो अभियानलाई अझ कडा, निरन्तर र समन्वित रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।