![]() |
फाइल तस्विर |
लमजुङ, जेठ ११ – लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा शनिबार जिप र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ।
दुर्घटनामा परेका बेसीशहर नगरपालिका–१० निवासी ४५ वर्षीय याकम तामाङको उपचारका क्रममा आइतबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिनुभयो।
शनिबार अपराह्न करिब सवा ४ बजे, बेसीशहर–चामे सडकखण्ड अन्तर्गत मनाङबाट बेसीशहरतर्फ जाँदै गरेको बा ०६९९ नम्बरको बलेरो जिप र विपरित दिशाबाट आइरहेको ज५प ७०१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई प्रदेश अस्पताल लमजुङमा प्रारम्भिक उपचारपछि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको थियो। भरतपुरमा उपचार सम्भव नभएपछि उनलाई पुनः लमजुङ फर्काइएको थियो, जहाँ आइतबार बिहान चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ। दुर्घटनामा संलग्न जिप चालक बेसीशहर नगरपालिका–५ का बिच कुमार परियार प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।