सल्यान, जेठ ११ – सल्यानको कपुरकोटमा आइतबार बिहान भएको जिप दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन्।
रिमबाट दाङको तुलसीपुरतर्फ गइरहेको लु १ ज १६३७ नम्बरको जिप कपुरकोट गाउँपालिका–३, लामीडाँडामा सडकबाट करिब चार मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटना बिहान करिब ११:३० बजे भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो।
दुर्घटनाग्रस्त जिपमा १२ जना यात्रु सवार थिए। घाइतेमध्ये ६२ वर्षीया भिमा बुढाथोकी, ६७ वर्षीया मन्जीता बोहरा, ३८ वर्षीय विजय बुढाथोकी, १५ वर्षीया सपना बुढाथोकी, ४५ वर्षीया चन्द्रकला महतारा, १८ वर्षीया पुष्पा महतारा, ८ वर्षीया रोशनी महतारा, ४६ वर्षीया सिता बुढाथोकी, र ५५ वर्षीय गोरेलाल बोहरा रहेका छन्।
सबै घाइतेलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारार्थ लगिएको छ। हाल उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनापछि जिप चालक ज्ञानबहादुर महतारालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कपुरकोट किमुचौर–लामीडाँडा–सातबाटको वैकल्पिक सडक प्रयोग गरिएको बेला जिप अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ।