जेठ ११ – पूर्वसभामुख कृष्णबहादुर महरासँग जोडिएको बलात्कार प्रकरणकी पीडित रोशनी शाही आइतबार मृत अवस्थामा फेला परेकी छन्।
शाही भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित बृहस्पति मार्गमा लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्दै आएकी थिइन्। प्रहरीले दिएको जानकारी अनुसार उनी बस्दै आएको कोठा भित्रबाट चुकुल लगाइएको अवस्थामा थियो, जहाँ उनको शव फेला परेको हो।
प्रहरीले घटनास्थलबाट एक वटा पत्र पनि बरामद गरेको जनाएको छ। तर उक्त पत्र शाहीले नै लेखेकी हुन् वा होइनन् भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
शरीरमा कुनै बाह्य चोटपटक नदेखिएको जनाउँदै प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।
यस घटनाले संवेदनशीलता बोकेको भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको बताइएको छ।