धनगढी, जेठ ११ – आफूलाई "ब्यूरोबाट खटिएको असई हुँ" भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ शिवनगर निवासी २६ वर्षीय निराजन थापा रहेका छन्।
प्रहरीका अनुसार थापाले धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्कमा रहेको धामी होटलका सञ्चालकसँग विगत २–३ दिनदेखि पटक–पटक रकम माग्दै आएको सूचना पाएपछि अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले उनलाई शनिबार पक्राउ गरेको हो।
थापा स्वयंलाई प्रहरी नायब निरीक्षक (असई)को परिचय दिँदै ठगी प्रयासमा लागेको बताइएको छ।
यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।