शनिबार नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिद्वारा पिपडियामाईस्थानस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले यो विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
“केही दिनदेखि सामाजिक सञ्जालमा मेरो नाम भिजिट भिसासँग जोडेर लेखिने क्रम बढेको छ,” गृहमन्त्री लेखकले भने, “कसले, किन र कहाँबाट यो अभियान चलाइरहेको छ भनेर म अनुसन्धानमै थिएँ। अहिले धेरै कुरा बुझिसकेको छु।”
उहाँले थपे, “आजै म काठमाडौं फर्किएपछि गृह मन्त्रालयमार्फत विज्ञप्ति निकालिनेछ। दुई-चार दिनमै म स्वयं केही थप कुरा सार्वजनिक रूपमा राख्नेछु।”
भिजिट भिसा प्रकरणले नेपाली कांग्रेसको छविमा नकारात्मक असर पर्ने कुराप्रति पनि उनले चिन्ता व्यक्त गरे। “मेरो कारणले कांग्रेसको शिर झुक्ने स्थिति कहिल्यै आउन दिनेछैन,” गृहमन्त्री लेखकको भनाइ थियो।

