जुम्ला, जेठ १० — जुम्लाको तिला गाउँपालिका–४ स्थित भोटचौरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
क.१ ह. ३१ नम्बरको अटो दुर्घटनामा परी ४४ वर्षीय चालक रण बहादुर कुँवरको ज्यान गएको हो।
प्राप्त जानकारी अनुसार तातोपानी गाउँपालिका–१ राँकाबाट तातोपानी–७ सर्मीगाउँतर्फ धान लिएर जाँदै गरेको अटो सडकबाट करिब ६० मिटर तल खसेको थियो।
दुर्घटनापछि गम्भीर घाइते भएका कुँवरलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएको थियो।
तर उपचारकै क्रममा शनिबार बिहान ५ बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोका अनुसार अटो अनियन्त्रित भई खसेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।