पोखरामा प्याराग्लाइडिङ पाइलटको मापसे र लापसे परीक्षण - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरामा प्याराग्लाइडिङ पाइलटको मापसे र लापसे परीक्षण - Gandaki Express


पोखरा, जेठ ५ गते – पर्यटकीय गतिविधिको केन्द्रविन्दु मानिने पोखराको प्याराग्लाइडिङ उडानस्थल मान्द्रेढुङ्गामा सोमबार एक महत्वपूर्ण सुरक्षा परीक्षण गरिएको छ। कास्की प्रहरीले पहिलोपटक प्याराग्लाइडिङ पाइलटहरूबीच मादक पदार्थ (मापसे) र लागुपदार्थ (लापसे) सेवन परीक्षण गरेको हो।

परीक्षणमा सहभागी ३९ जना पाइलटमध्ये एक जनाले मापसे र लापसे दुवै सेवन गरेको पुष्टि भएपछि प्रहरीले ती पाइलटलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाएको छ। ती पाइलट पोखरा–१८ का ३० वर्षीय विशालबहादुर क्षेत्री रहेको पुष्टि भएको छ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार पाइलटहरूबीच मापसे वा लापसे हुने आशंका गरिएको सूचना प्राप्त भएपछि आकस्मिक जाँच गरिएको हो। “पाइलटको हलुका लापरवाहीले पनि सवारी नभई हवाई दुर्घटना निम्त्याउन सक्छ,” उहाँले भने, “त्यसैले हामीले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै परीक्षण गरेका हौँ।”

नेपाल हवाई खेलकुद संस्था (NA) का अध्यक्ष अनिल केसीले जाँचको स्वागत गर्दै यस्ता परीक्षणले पाइलटहरूमा अनुशासन कायम गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे। उनका अनुसार हाल पाइलटले लाइसेन्स लिने र नवीकरण गर्ने बेला स्वास्थ्य परीक्षण गरिए पनि नियमित मापसे र लापसे परीक्षण हुने प्रावधान छैन।

पोखरामा हाल ५७ प्याराग्लाइडिङ कम्पनी सञ्चालित छन्। चार सय हाराहारी पाइलटले लाइसेन्स लिएका छन् भने तीमध्ये दुई सय ६० पाइलट नियमित रूपमा व्यावसायिक उडानमा छन्। दैनिक झण्डै दुई सय पर्यटकले आठ हजार पाँच सय रुपैयाँ तिरेर प्याराग्लाइडिङको अनुभव लिने गरेका छन्।

तर यस्तो रोमाञ्चक खेलमा संलग्न पाइलटहरूको मनोस्थिति र अनुशासनमा कमजोरी आउनु निकै खतरनाक हुनसक्ने विज्ञहरू बताउँछन्। हालको परीक्षणले यस्तो जोखिमलाई गम्भीर रूपमा हेर्नुपर्ने अवस्था रहेको संकेत दिएको छ।

पाइलटको सजगता र सुरक्षामा कुनै पनि किसिमको सम्झौता नगरिने भन्दै प्रहरी प्रशासनले आगामी दिनमा पनि नियमित परीक्षण गरिने जानकारी दिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :