कोहलपुर, जेठ ९ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाँके जिल्लास्थित मालपोत कार्यालय कोहलपुरका खरिदार हरिचन्द्र पाण्डेलाई २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ। आयोगका अनुसार, सेवाग्राहीसँग जग्गाको मोठ भिडाइ प्रक्रियामा सहजीकरण गर्ने भन्दै पाण्डेले घुस माग गरेका थिए।
कोहलपुर नगरपालिका वडा नं. ११ स्थित तिवारी रेष्टुरेण्टबाट पाण्डेलाई पक्राउ गरिएको हो। आयोगको भनाइ अनुसार सो घुस रकम रेष्टुरेण्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिइएको अवस्थामा फेला परेको थियो।
उक्त प्रकरणमा संलग्न रहेका लेखापढी व्यवसायी (विचौलिया) शान्ती पुन र रेष्टुरेण्ट सञ्चालक घनश्याम तिवारीलाई समेत आयोगले नियन्त्रणमा लिएको छ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार तीनैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ। आयोगले घुसखोरी जस्ता दुरुपयोगका घटनामा शून्य सहनशीलताको नीति अपनाउँदै आएका कारण यस्ता अपरेसन नियमित रूपमा भइरहेको बताइएको छ।
सम्बद्ध कार्यालयमा भ्रष्टाचार नियन्त्रण र सेवाग्राहीको विश्वास कायम गर्न आयोगले सक्रियता बढाएको छ। आयोगले यस प्रकरणमा संलग्न दोषीमाथि आवश्यक कानुनी कारवाही अघि बढाउने जनाएको छ।