असार १६ — अमेरिका पठाइदिने प्रलोभन देखाउँदै ७५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका–१२ स्थायी घर भई हाल काठमाडौं चन्द्रगिरी नगरपालिका–७ बसोबास गर्दै आएका ३० वर्षीय रञ्जन पाण्डे छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, पाण्डेले अमेरिका लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्याउँदै कुल ७५ लाख ५० हजार रुपैयाँ असुलेका थिए। तर, विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।
प्राप्त जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाएको जनाएको छ।
प्रहरीले यस प्रकारका प्रलोभनमा नपर्न नागरिकलाई आग्रह गर्दै, यस्ता गिरोहविरुद्ध निगरानी र कानुनी प्रक्रिया कडाइका साथ अघि बढाइने जानकारी दिएको छ।