जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोसीका अनुसार, धनगढी–१३ श्रीलङ्का र बेली गाउँमा फसेका दुई परिवारका चार–चार जना गरी आठ जनाको आज बिहान उद्धार गरिएको हो।
बेली गाउँका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनलाई परिवारसहित उद्धार गरेर नजिकैको आफन्तको घरमा सुरक्षित राखिएको छ। यस्तै, श्रीलङ्कास्थित एकै परिवारका चार सदस्यलाई स्थानीय आधारभूत विद्यालयमा अस्थायी रूपमा राखिएको छ।
सूचना अधिकारी जोसीका अनुसार, अविरल वर्षाले धनगढी उपमहानगरपालिका क्षेत्रका करिब २,००० घरमा पानी पसेको छ। विशेष गरी वडा नम्बर ३, ४, १३, १, ७ र ११ मा बाढीको असर बढी परेको बताइएको छ।
स्थानीय प्रशासन, सुरक्षाकर्मी र उद्धार टोली डुबान प्रभावित क्षेत्रको अनुगमन तथा राहत व्यवस्थापनमा जुटिरहेको जनाइएको छ। स्थिति थप बिग्रन सक्ने अनुमानसहित जनतालाई सचेत रहन समेत अनुरोध गरिएको छ।