असार ११, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।
माधव नेपालका तर्फबाट ५ जना वकिलहरुले बहस गरेका थिए । पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती, गाेविन्द बन्दीले उनलाई बिनाशर्त रिहाइ गर्न माग गरेका थिए । सरकारी वकिलहरुले भने नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोले नेपालविरुद्ध पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गरेर आर्थिक हिनामिनाको आरोपमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा बुधबार बयान र थुनछेक बहस सकिएसँगै उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।