जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार जेठ २८ गते साँझ, आफन्तको घरबाट फर्किँदै गरेकी किशोरीमाथि बडिगाड गाउँपालिका–८ मा सामूहिकरूपमा जबर्जस्ती करणी भएको थियो। घटनामा संलग्न रहेको आरोपमा सोही गाउँपालिकाका ३० वर्षीय यामप्रसाद श्रीस, २५ वर्षीय गुणबहादुर श्रीस र ३५ वर्षीय झमु श्रीसलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक आनन्द बस्नेतको नेतृत्वमा खटिएको टोलीले सोमबार ती तीनै जनालाई लुकीछिपी बसिरहेको अवस्थामा बडिगाड क्षेत्रबाटै नियन्त्रणमा लिएको हो।
घटनाबारे जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले बालिकाको स्वास्थ्य परीक्षण रिपोर्ट, पीडितको बयान तथा जाहेरी दरखास्तलगायत प्रमाणहरूका आधारमा जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो।
प्रहरीका अनुसार पीडित बालिकालाई आवश्यक स्वास्थ्य तथा कानुनी सहयोग उपलब्ध गराइएको छ भने आरोपितहरूविरुद्ध जबरजस्ती करणी गर्न नहुने कसूरअन्तर्गत मुद्दा दर्ता गरिएको छ।