गाउँपालिकाले सञ्चालनमा ल्याएको पूर्ण सरसफाइ अभियान अन्तर्गत शौचालय प्रयोग नगर्ने, खुला स्थानमा फोहोर फाल्ने, नाली थुन्ने, सडकमा चौपाया छाड्ने र सार्वजनिक स्थल फोहर गर्ने जस्ता गतिविधिमा संलग्न घरधुरीहरूमाथि निगरानी गरी कारबाही गरिएको हो।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाका अनुसार, “सामाजिक चेतना अभिवृद्धिका लागि ‘सचेत नागरिक परिचयपत्र’ वितरण गर्दै सबै घरधुरीमा सात बुँदे प्रतिबद्धता गराइएको छ। अघिल्ला वर्षहरूमा चेतावनी दिए पनि पालना नभएकाले यो वर्ष जरिवानाको कदम चाल्नुपर्यो।”
सात बुँदे प्रतिबद्धतामा घर वरपर सफा राख्ने, नाली सफा राख्ने, अनिवार्य शौचालय प्रयोग गर्ने, चौपाया नियन्त्रणमा राख्ने, फोहोरको व्यवस्थापन गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र सामाजिक सद्भाव कायम राख्ने विषय समावेश गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालका अनुसार, “साझा सरसफाइको जिम्मेवारी हरेक घरधुरीले लिनुपर्छ भन्ने सोचसहित यो अभियान सुरु गरिएको हो।”
खानेपानी तथा सरसफाइ शाखा प्रमुख अर्जुन बेल्बासेका अनुसार, प्रहरी, जनप्रतिनिधि र समाजसेवीसहितको संयुक्त अनुगमन टोलीले सातै वडामा निगरानी गर्दै २ हजारदेखि ५ हजार रुपैयाँसम्मको जरिवाना तोकेको छ।
गाउँपालिकाको कार्यपालिका बैठकले असार मसान्तभित्र जरिवाना तिर्ने घरधुरीलाई ५० प्रतिशत छुटको सुविधा दिने निर्णयसमेत गरेको छ।
विजयनगर गाउँपालिकाले अगाडि सारेको यो अभियान सरसफाइप्रतिको नागरिक जिम्मेवारी अभिवृद्धि गर्ने सकारात्मक प्रयासका रूपमा हेरिएको छ। सरसफाइलाई व्यवहारमा उतार्ने उद्देश्यले गरिएको कडाइले सामाजिक अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।