सुर्खेत, साउन १० गते। हनी ट्रयापमा पारी आर्थिक लाभ लिएको आरोपमा सुर्खेतमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा दैलेख नौमुले गाउँपालिका–८ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २१ वर्षीया शिन्दु चन्द रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पीडित मनोज कोईरालाले दिएको जाहेरीका आधारमा प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको हो।
मामिला सम्बन्धी प्रारम्भिक अनुसन्धानअनुसार गत २०८१ साल भदौ महिनामा प्रतिवादी चन्दले पीडितलाई बुलबुले भ्यू होटल, वीरेन्द्रनगरमा बोलाएर चिनजान र सहमतिपूर्वक सम्बन्ध राखेकी थिइन्। त्यसपछि उनले हनी ट्रयापमा पार्दै जबरजस्ती करणी मुद्दामा फसाइदिने र सामाजिक सञ्जाल तथा मिडियामा अश्लील फोटो सार्वजनिक गर्ने धम्की दिई विभिन्न समयमा जम्मा १४ लाख २५ हजार रुपैयाँ असुल गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकी चन्दमाथि आर्थिक लाभ (एक्सटर्सन) लिएको कसूरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। यस प्रकरणमा अन्य व्यक्तिहरूको संलग्नता छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।