स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले ७८ वर्षीय छविलाल विश्वकर्माको शव पहिरोमा पुरिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टले जानकारी दिनुभयो।
डीएसपी विष्टका अनुसार छविलालकी ७६ वर्षीया श्रीमती विष्णुमती विश्वकर्मा अझै बेपत्ता हुनुहुन्छ। उहाँको खोजीका लागि डिमुवा र कुश्माबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सक्रियतामा उद्धार कार्य जारी छ। तर लगातारको वर्षाले उद्धारमा कठिनाइ भइरहेको प्रहरी प्रमुख विष्टले बताउनुभयो।
गएरातिदेखि परेको अविरल वर्षाका कारण आज बिहान करिब ४ बजे घरमाथिबाट आएको पहिरोले एकतले कच्ची घर पुरेको थियो। सोही समयमा घरभित्र रहेका वृद्ध दम्पती पहिरोमा पुरिएका थिए।
उनीहरूकी २८ वर्षीया बुहारी पवित्रा विश्वकर्मा भने घटनाको समयमा हामफालेर ज्यान जोगाउन सफल भएकी थिइन्।
प्रहरी र स्थानीयवासीले मौसम अनुकुल हुने बित्तिकै उद्धार कार्यलाई थप तीव्र बनाउने तयारी गरेका छन्।