स्याङ्जा, साउन १३ – करिब २३ वर्षदेखि फरार रहेका कर्तव्यज्यान मुद्दाका दोषी बाजिन्द्र बहादुर सोतीमगरलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०५० साल फागुन महिनामा तत्कालीन रत्नपुर गाविस–२ धुर्कोट (हाल चापाकोट नगरपालिका–२) मा विवाह समारोहका क्रममा सोतीमगरले ६० वर्षीय हस्ते विकमाथि कुटपिट गरेका थिए। उपचारको क्रममा विकको मृत्यु भएपछि सोतीमगरविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता गरिएको थियो।
सर्वोच्च अदालतले २०५९ साल असोज ७ गते उक्त घटनामा सोतीमगरलाई दुई वर्ष कैद सजाय तोकेको थियो। तर, सजाय तोकिएपछि उनी फरार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेशन टोलीले कास्कीको पोखरा महानगरपालिका–१७ तल्लो बिरौटाटोलमा लुकी बसेको अवस्थामा उनलाई सोमबार (साउन १३) पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।