बागलुङ, असार २५ ।
अविरल वर्षाका कारण आएको बाढी र गेग्रानले दक्षिण बागलुङको जैमिनी नगरपालिका–९ पैँयुथन्थाप क्षेत्रमा भीषण क्षति पुर्याएको छ।
बाढीले स्थानीय उपल्लो कालुङखोला लघु जलविद्युत आयोजना, स्टिल पुल, ट्रान्सफर्मर, बस्ती र खेतीयोग्य जमिनमा भारी क्षति पुर्याएको स्थानीयले बताएका छन्।
बुधबार बिहानपख आएको बाढीले सोही क्षेत्रमा रहेको उपल्लो कालुङखोला लघु जलविद्युत आयोजनाको बाँधसहित पावरहाउस समेत बगाएको स्थानीय गंगा आचार्यले जानकारी दिनुभयो।
आयोजनामा कार्यरत प्राविधिक रामबहादुर क्षेत्रीले राति नै भागेर ज्यान जोगाउन सफल भएको जनाइएको छ।
गत वर्ष करिब ३५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बाढीले बगाएको छ।
बाढीले केन्द्रीय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मरमा समेत क्षति पुर्याएको छ।
स्थानीय जलविद्युत आयोजना बग्नु र केन्द्रीय विद्युत सेवा अवरुद्ध हुनुले पैयुथन्थाप क्षेत्रका करिब १३० घरपरिवार अहिले अन्धकारमा परेका छन्।
त्यसैगरी, बाढीले घरभित्र पसेपछि खरेयाबोट टोलका दुई परिवार विस्थापित भएका छन् भने अन्य धेरै घरहरू जोखिममा रहेको बताइएको छ।
बाढीले खोलासँगै जोडिएका खेतीयोग्य जमिन र धानबाली पनि पूर्णरूपमा नष्ट भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो।
उपप्रमुख शर्माका अनुसार, बाढीपछि स्थानीय तहको निरीक्षण टोली प्रभावित क्षेत्रमा प्रस्थान गरिसकेको छ।
घटनास्थलमा प्रहरीको टोली पनि पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले बताउनुभयो।
हाल बागलुङमा लगातार भारी वर्षा जारी रहेकाले थप जोखिमको सम्भावना रहेको प्रशासनले जनाएको छ।
हालसम्म प्राप्त जानकारी अनुसार भौतिक संरचना, विद्युत सेवा र कृषिक्षेत्रमा ठूलो क्षति पुगेको छ।
यद्यपि, वास्तविक क्षतिको पूर्ण विवरण संकलन कार्य भइरहेको र थप विवरणहरू आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ।
प्राकृतिक प्रकोपबाट प्रभावित स्थानीयको उद्धार र राहत कार्यमा स्थानीय सरकार, प्रहरी प्रशासन र नागरिक समाजको सहकार्य भइरहेको जनाइएको छ।
वर्षासँगै नदी-नाला र खोला किनारमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।