महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार, मनसुन सक्रिय अवस्थामा रहेको छ र यसको न्यून चापीय रेखा सामान्यभन्दा उत्तरतर्फ सरेको कारण सुदूरपश्चिम क्षेत्रका तराई र पहाडी भूभागमा अत्यधिक वर्षा भएको हो। उनका अनुसार, “धेरै भारी वर्षाको मुख्य कारण मनसुन रेखा उत्तरतर्फ सरेको हो। तर, मङ्गलबारदेखि वर्षाको मात्रा केही घट्दै जाने संकेत देखिएको छ।”
महाशाखाले असार १४ देखि १६ गतेसम्म कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा भारी वर्षा भएकाले डुबान र बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन विशेष बुलेटिनसमेत जारी गरेको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता सुरेश सुनारका अनुसार, महाशाखाबाट प्राप्त मौसम पूर्वानुमानका आधारमा पूर्वसूचना, चेतावनी तथा सतर्कताका सन्देश विभिन्न माध्यमबाट सम्प्रेषण भइरहेको छ।
“हामीले सुरक्षा निकायसँगको समन्वयमा कमान्ड पोस्ट गठन गरेका छौं। त्यहाँबाट सूचना सर्कुलर जारी भइरहेका छन्,” सुनारले जानकारी दिए। उनका अनुसार, स्थानीय तह र जिल्लास्तरका संयन्त्रहरू पनि सतर्क अवस्थामा छन्।
प्रवक्ता सुनारले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, नदी किनारमा जोखिमपूर्ण गतिविधि नगर्न तथा यात्रा नगर्न आग्रह गरेका छन्। “हामीले स्वयंसेवक परिचालन गर्नेसम्मको तयारी गरिरहेका छौं,” उनले भने, “सार्वजनिक अपिल पनि जारी गरिसकेका छौं।”
उनका अनुसार, विपद् व्यवस्थापनमा एउटै निकायभन्दा पनि विभिन्न तह र क्षेत्रको साझा भूमिका हुन्छ। “कृषि, सञ्चार, योजना, स्थानीय प्रशासन, सुरक्षा निकाय सबैले आफ्नो–आफ्नो जिम्मेवारीअनुसार पूर्वतयारी र प्रतिकार्यमा सक्रिय सहभागिता जनाउने व्यवस्था गरिएको छ,” उनले स्पष्ट पारे।
वर्षा र बाढीजन्य जोखिम अझै टरिसकेको छैन। जल तथा मौसम विज्ञान विभाग र विपद् व्यवस्थापन निकायहरूले नागरिक, स्थानीय सरकार र सुरक्षा संयन्त्रबीच समन्वय गर्दै जोखिम न्यूनीकरणका लागि व्यापक तयारी अघि बढाइरहेका छन्। सतर्कता नै सुरक्षित रहनको पहिलो उपाय भएको भन्दै सम्बन्धित निकायहरूले सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।