नुवाकोट, असार २४ ।
त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नदीको भंगालोमा अड्किएर तीन घण्टा सिसौंको रुख समाएर जीवन र मृत्युको संघर्ष गरेका नुवाकोटका पाल्देन तामाङ (६०) र मंगली तामाङ (६७) दम्पत्तिको नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ।
किस्पाङ गाउँपालिका–४ साल्मे स्थायी घर भई विगत आठ वर्षदेखि नुवाकोटको विदुर नगरपालिका–९, बाह्रनम्बर घुमाउनेमा बस्दै आएका ती दम्पत्ति मङ्गलबार बिहान करिब ५ बजे त्रिशूली नदीमा दाउरा समाउन गएका बेला अचानक बाढीले उनीहरूलाई घेरेको थियो। बाँच्ने आशामा उनीहरू नदीबीच सिसौंको रुख चढेर तीन घण्टा ज्यान बचाउने प्रयासमा बसिरहेका थिए।
सेनाको हेलिकप्टरबाट उद्धार
घटनाबारे थाहा पाउनेबित्तिकै गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र विदुर नगरपालिकाको समन्वयमा उद्धार कार्य शुरू गरिएको थियो। नेपाली सेनाको MI–17 हेलिकप्टर (NA-038) मार्फत डोरी र वकेटको सहायताले तालिम प्राप्त जवानहरू नदीमा झरेर उनीहरूको ज्यान जोगाएका हुन्।
उद्धारपछि दुवै जनालाई त्रिशूलीस्थित नुवाकोट जिल्ला अस्पताल लगिएको हो। अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीका अनुसार, दम्पत्तिको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
“पहिले त बाँच्ने आशै थिएन” — पाल्देन तामाङ
उद्धारपछि अस्पतालमा रहेका पाल्देन तामाङले त्रासदीको क्षण सम्झिँदै भने:
“नदीले बगाएर ल्याएको दाउरा समात्न खोज्दा अचानक पानी बढ्यो। कहाँ गएँ, के भयो केही थाहा भएन। पहिले त बाँच्ने आशै थिएन, तर वगरमा मान्छेहरू देखेपछि केही आशा पलायो। हेलिकप्टर आएको देख्दा लाग्यो अब बाँचिन्छ।”
मंगली तामाङले भने,
“तीन घण्टा सिसौंको रुख समाएर बस्नुपर्यो। अझै पनि त्यो क्षण सम्झिँदा जिउ नै काँप्छ। सुनेका थियौँ, हेलिकप्टरले उद्धार गर्छ रे, तर आफैँलाई त्यो दिन आउँला भन्ने कल्पना पनि गरेका थिएनौं।”
चिनको तिब्बत हुँदै आएको लेन्दो खोलाबाट बाढी
प्रकृतिक प्रकोपको यो घटना चिनको तिब्बत हुँदै आएको लेन्दो खोलाको बाढी त्रिशूली नदीमा मिसिएपछि भएको हो। सोही बाढीका कारण त्रिशूली नदी एकाएक ठूलो भएपछि दम्पत्ति नदीबीचमा फसेका थिए।
बाढीमा परेका दम्पत्तिको उद्धारमा वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र विदुर नगरपालिकाका जनप्रतिनिधिहरूको सक्रिय भूमिका रहेको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिनुभयो।