खुकुरी प्रहार गरी भाइको हत्या, फरार दाइ १८ घण्टापछि पक्राउ

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

खुकुरी प्रहार गरी भाइको हत्या, फरार दाइ १८ घण्टापछि पक्राउ




 

उदयपुर, पुस — उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह हाटखोलामा आफ्नै भाइको खुकुरी प्रहार गरी हत्या गरी फरार भएका दाइलाई प्रहरीले १८ घण्टापछि पक्राउ गरेको छ ।

शनिबार बिहान करिब २ बजे ४३ वर्षीय युवराज राईले ३० वर्षीय आफ्ना भाइ धर्मराज राईमाथि धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारमान दोङले जानकारी दिनुभयो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका धर्मराज राईलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो । तर उपचारकै क्रममा बिहान २ बजेर ५० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि हत्या आरोपी युवराज राई फरार भएका थिए ।

आमामाथि कुटपिटपछि दाजुभाइबीच झगडा

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आरोपी युवराज राईले मादक पदार्थ सेवन गरी घर पुगेपछि आमासँग पैसाको विषयमा विवाद गरेका थिए । सोही क्रममा उनले आमालाई कुटपिट गर्दै मोबाइल सेटले टाउकोमा प्रहार गर्नुका साथै घाँटी थिचेर हत्या प्रयाससमेत गरेका थिए । कुटपिटबाट आमा रुपमाया राई गम्भीर घाइते भएको स्थानीयबासीले बताएका छन् ।

घरमा होहल्ला भएपछि छरछिमेकीको सहयोगमा आमालाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको थियो । आमालाई कुटपिट गरेको विषयमा दाजु–भाइबीच वादविवाद चर्किँदा युवराजले धारिलो हतियार खुकुरी प्रयोग गरी धर्मराजमाथि शरीरका विभिन्न भागमा प्रहार गरेका थिए ।

१६ घण्टापछि नियन्त्रणमा

घटनापछि फरार रहेका युवराज राईको खोजतलासका लागि प्रहरीले व्यापक घेराबन्दी गरेको थियो । खोजतलासकै क्रममा त्रियुगा नगरपालिका–४ सालघारी बगाहास्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले शनिबार साँझ ६ बजेर ३० मिनेटमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटना भएको स्थान त्रियुगा नगरपालिका वडा नं. १ र २ को सिमानामा पर्ने प्रहरीको भनाइ छ । आमा र दुई छोरा मात्र घरमा बस्दै आएका थिए ।

थप अनुसन्धान जारी

पक्राउ परेका युवराज राईमाथि भाइको हत्या र आमामाथि कुटपिट तथा हत्या प्रयाससम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई अदालतमा उपस्थित गराइने तयारी भइरहेको छ ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :