पुस ५ गते, सप्तरी — सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहका क्रममा घाइते भएकी एक बालिकाको उपचारकै क्रममा मृत्यु भएको छ। नाच्ने क्रममा जेनेरेटरमा कपाल फसेर गम्भीर घाइते भएकी १४ वर्षीया बालिका उपचारका क्रममा ज्यान गुमाउन पुगेकी हुन्।
घटना मंसिर ११ गते राति बोदेबर्साइन नगरपालिका–१, महनौरीस्थित प्रमोद यादवको छोरीको विवाह समारोहमा भएको थियो। सोही समारोहमा नाचिरहेकी शम्भुनाथ नगरपालिका–३ घर भएकी १४ वर्षीया खुश्बु पाल अचानक दुर्घटनामा परेकी थिइन्।
दुर्घटनापछि स्थानीयवासीले तत्काल उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पुर्याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर लगिएको र त्यसपछि मंसिर १२ गते कीर्तिपुर अस्पताल, काठमाडौँ पठाइएको थियो।
उपचारपछि काठमाडौँबाट घर फर्काउने क्रममा उनको स्वास्थ्य अवस्था झनै गम्भीर भएपछि प्रादेशिक अस्पताल सिराहा लगिएको थियो। तर उपचारकै क्रममा शुक्रबार राति १:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरी ले जानकारी दिनुभयो।
मृतक बालिकाको शव हाल प्रादेशिक अस्पताल लहान मा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
