असार ३० गते । अविरल वर्षाका कारण बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि नागढुङ्गाबाट उपत्यकाबाहिर जाने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै काठमाडौं उपत्यकाबाट बाहिरिने सडकखण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द गरिएको हो।
सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकमार्गमा समेत सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ। कुनै आपत्कालीन समस्या परेमा तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
यसअघि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ढुङ्गा खस्न थालेपछि तथा सेती दोभान क्षेत्रमा लेदोसहितको पहिरो झरेपछि उक्त सडक पनि दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
देशका अधिकांश स्थानमा अझै वर्षा जारी रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिम कायम रहेको भन्दै अत्यावश्यकबाहेक यात्रा नगर्न र यात्रा गर्नुपरे सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षित रूपमा यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

