असार २९ गते । बहुमूल्य क्रिस्टल भएको भन्दै झुक्याएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पोखराबाट ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार म्याग्दी, मालिका गाउँपालिका–४ स्थायी घर भई हाल पोखरा महानगरपालिका–२६ कालिकाचोक बस्ने ५१ वर्षीय डिलबहादुर बुढाथोकीसहित ६ जनालाई पक्राउ गरिएको हो।
उनीहरूले पोखरा महानगरपालिका–१८ का दीपेन्द्र तिमिल्सिनालाई आफूहरूसँग अन्धकारमा प्रकाश दिने, पानी जमाएर डल्लो बनाउने तथा फूलको कोपिलालाई तत्काल फुलमा परिणत गर्न सक्ने अद्भुत शक्तियुक्त बहुमूल्य क्रिस्टल रहेको भन्दै फोटो र भिडियोसमेत देखाई प्रलोभनमा पारी १० लाख रुपैयाँ ठगी गरेको आरोप छ।
त्यसपछि पुनः २० लाख रुपैयाँ माग्दै नदिए विभिन्न किसिमका डर, त्रास र धम्की दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले आइतबार बिहान करिब १२:३० बजे पोखरा महानगरपालिका–२६ कालिकास्थित छहारीबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्ने अन्यमा म्याग्दी रघुगंगा गाउँपालिका–५ का २९ वर्षीय दीपक गोतामे, पोखरा महानगरपालिका–२८ का ४५ वर्षीय प्रेमचन्द विश्वकर्मा, पर्वत फलेवास नगरपालिका–५ का ३५ वर्षीय राजन विश्वकर्मा, २९ वर्षीया रोशनी सुनार र ७२ वर्षीया खैसरा सुनार रहेका छन्।
उनीहरूको साथबाट सेतो टल्किने क्रिस्टलजस्तो देखिने लाम्चो आकारको वस्तु एक थान, काठको फोल्डिङ बट्टा, चार्जर तथा ६ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

