‘अप्रेसन ३६५’ : कास्कीमा चर्को आवाज निकाल्ने १४ मोटरसाइकल नियन्त्रणमा

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

‘अप्रेसन ३६५’ : कास्कीमा चर्को आवाज निकाल्ने १४ मोटरसाइकल नियन्त्रणमा


श्रावण ११ गते । स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकलविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले ‘अप्रेसन ३६५’ अन्तर्गत कारबाहीलाई तीव्र बनाएको छ।


प्रहरीका अनुसार समाजमा ध्वनि प्रदूषण फैलाउने, सर्वसाधारणलाई त्रसित बनाउने तथा जाँचका क्रममा प्रहरीसँग वादविवाद गर्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न अभियान सञ्चालन गरिएको हो।


यसैक्रममा गएराति पोखराका विभिन्न स्थानबाट १४ वटा स्वरूप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


यसअघि साउन ७ गते ३३ वटा र साउन ६ गते १८ वटा यस्ता मोटरसाइकललाई पनि नियन्त्रणमा लिएर कारबाही गरिएको थियो।


जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त अभियान ‘अप्रेसन ३६५’ अन्तर्गत हालसम्म ७९८ वटा सवारीसाधन र ३६ जना चालकलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।


प्रहरीका अनुसार मोटरसाइकलको साइलेन्सर, सिट, रङ, नम्बर प्लेट, ह्यान्डल, इन्जिन, चेसिसलगायतका पार्टपुर्जा स्वीकृतिविना परिवर्तन गरी चर्को तथा पड्किने आवाज निकाल्ने, रातिको समयमा ध्वनि प्रदूषण गर्ने र सार्वजनिक शान्ति भंग गर्ने गतिविधि बढेपछि गत वर्षदेखि यो अभियान सञ्चालन गरिएको हो।


सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार स्वीकृतिविना सवारीसाधनको स्वरूप परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने पार्टपुर्जा जडान गर्ने व्यक्तिलाई १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ।


प्रहरीले ध्वनि प्रदूषण गर्ने वा स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ। सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने पनि प्रहरीले जनाएको छ।

#NewsAlert #NewsUpdate #newsfeed #समाचार #नेपालीसमाचार #kaski #pokhara

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :