श्रावण १० गते । यात्रुलाई बासी तथा अस्वस्थकर खाना खुवाएको भेटिएपछि दाङको देउखुरीस्थित एक होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरियास्थित पूर्व–पश्चिम हाइवे होटल लाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुगमन टोलीले २५ हजार रुपैयाँ जरिवाना गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहितको टोलीले होटलको अनुगमन गर्दा फ्रिजमा बासी तथा अस्वस्थकर खाना भण्डारण गरिएको, पकाइने परिकारमा कृत्रिम रङ प्रयोग गरिएको, भान्साको संरचना मापदण्डअनुसार नभएको, मूल्यसूची नराखिएको, नालीमा फोहोर पानी जमेको तथा भान्सामा दुर्गन्ध रहेको पाइएको थियो।
प्रमुख बरालका अनुसार उक्त होटललाई यसअघि पनि पटक–पटक सुधार गर्न निर्देशन दिइएको थियो। तर निर्देशनको पालना नगरी अटेर गरेपछि पुनः गरिएको अनुगमनमा पनि कुनै सुधार नदेखिएकाले जरिवाना गरिएको हो।
होटल सञ्चालकलाई तोकिएको जरिवाना एक साताभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन तथा आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ।
अनुगमन टोलीले शुक्रबार देउखुरी क्षेत्रका अन्य सात वटा होटलको समेत अनुगमन गरेको जनाएको छ।
#newsfeed #NewsUpdate #NewsAlert #समाचार #नेपालीसमाचार

