चापाकोट (पोखरा), श्रावण ९ गते । पोखरा महानगरपालिका–२३, चापाकोटमा पर्यापर्यटनको सम्भावना र प्रवर्द्धनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
पोखरा महानगरपालिका–२३ वडा कार्यालयको आयोजना तथा स्वतन्त्र पत्रकार संघ नेपालसँगको सहकार्यमा स्वतन्त्र पत्रकार संघ कास्कीले कार्यक्रमको व्यवस्थापन गरेको हो। कार्यक्रम वडा सदस्य तेजबहादुर क्षेत्रीको अध्यक्षता तथा वडाध्यक्ष रामकाजी गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका सचिव कल्याण पन्त ले ‘पोखरा–२३ को पर्यापर्यटनको सम्भावना’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो। फेवातालको मुहान रहेको यस वडामा प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यापर्यटन विकास गर्न सकिने उल्लेख गर्दै उहाँले घरबास (होमस्टे) कार्यक्रम स्थानीयको आयआर्जन बढाउने प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो।
सचिव पन्तले वडाको विविध भूगोल र जडीबुटीजन्य वनस्पतिको अध्ययन तथा अवलोकनका लागि विद्यार्थी र अनुसन्धानकर्ताको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावनामा पनि जोड दिनुभयो।
प्रमुख अतिथि वडाध्यक्ष रामकाजी गुरुङ ले वडा विकासका लागि विभिन्न योजना अघि बढाइएको जानकारी दिँदै घरबास कार्यक्रमलाई स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य रहेको बताउनुभयो। महानगरकै दुर्गम र विकट क्षेत्रमध्ये एक रहेको वडा–२३ को मौलिक पहिचान जोगाउन सिमेन्ट ढलान गरेर सिँढी निर्माण नगरी परम्परागत स्वरूपलाई संरक्षण गरिएको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष डिल्लीराम काफ्ले ले पर्यापर्यटन प्रवर्द्धनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला ले पर्यापर्यटनको विकाससँगै घरबास कार्यक्रमलाई स्थानीय आयआर्जनको मुख्य आधारका रूपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। पर्यटक आकर्षित गर्न स्थानीय मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन आवश्यक रहेको उहाँको भनाइ थियो।
अग्रज पत्रकार नारायण कार्की ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको सन्दर्भमा पोखरा–२३ नै प्रमुख पर्यटकीय स्रोत क्षेत्र रहेको उल्लेख गर्दै यसको योजनाबद्ध विकास आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका पदाधिकारी तथा सदस्य, कास्की जिल्ला शाखाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो। साथै केन्द्रिय सदस्य कृष्ण रानभाटले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालद्वारा प्रकाशित स्मारिकाको समेत विमोचन गरिएको थियो।

