काठमाडौं । काठमाडौं महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीका परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने तथा उनका सन्तानलाई निःशुल्क शिक्षा दिने घोषणा गरेको छ।
महानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै दिवंगत नेपालीका परिवारलाई मानवीय सहयोग, परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउने र उनका सन्तानलाई निःशुल्क शिक्षा प्रदान गर्ने विषयमा आगामी कार्यपालिका बैठकबाट विधिसम्मत निर्णय गरिने जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्तानलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ।”
मुगु घर भई हाल भक्तपुरमा बस्दै आएका राइड–सेयरिङ एपमा आबद्ध गणेश नेपालीले बिहीबार राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा निधन भएको थियो।
घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै काठमाडौं महानगरपालिकाले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको समितिप्रति ऐक्यबद्धता जनाउँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

