काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा निधन भएको छ। उनको निधन भएको जानकारी उनका भाइ दीपक राउतले दिएका हुन्।
शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि परिवार, छिमेकी तथा स्थानीयवासीको सहयोगमा राउतको उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो। चिकित्सकको निगरानीमा उपचार भइरहे पनि उनको ज्यान जोगाउन नसकिएको परिवारले जनाएको छ।
दीपक राउतका अनुसार बिहान करिब ६ बजे परिवार श्राद्धको तयारीमा व्यस्त रहेका बेला राउतकी श्रीमती नुहाउन गएकी थिइन्। सोही समयमा राउतले घरबाहिर पार्किङ गरिएको स्कुटरबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए। आगो लागेको थाहा पाएलगत्तै परिवारका सदस्य, छिमेकी तथा नजिकैको होस्टेलमा बस्ने युवाहरूले आगो निभाई प्रहरीलाई खबर गरेका थिए। त्यसपछि उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो।
परिवारका अनुसार करिब एक वर्षअघि राउतको स्पाइनल कर्डको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि अपेक्षाअनुसार स्वास्थ्यमा सुधार नआएकाले उनी केही समयदेखि मानसिक तनावमा रहेका थिए। थप उपचारको तयारी भइरहेकै अवस्थामा उनले यस्तो कदम चालेको परिवारको भनाइ छ।
यसैबीच, घटनालाई पारिवारिक विवादसँग जोडेर केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति परिवारले गम्भीर आपत्ति जनाएको छ। दीपक राउतले घटनाको वास्तविकता नबुझी अनुमानका आधारमा समाचार प्रकाशन गर्दा शोकमा रहेको परिवारमाथि थप मानसिक पीडा पुगेको बताएका छन्।
प्रत्येक घटनाको प्रकृति फरक हुने भएकाले तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमसँग उनले आग्रह गरेका छन्। साथै आधारहीन तथा भ्रामक समाचार तत्काल सच्याई यस्ता संवेदनशील घटनामा जिम्मेवार र संयमित पत्रकारिता अपनाउनसमेत सम्बन्धित सञ्चारमाध्यमसँग अनुरोध गरेका छन्।

