पुस २१ गते । पोखरामा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा तीन जना पक्राउ छन् ।
पोखरा–८, जाल्पारोडको एक होटेलबाट पोखरा–९, पृथ्वी चोक बस्ने वर्ष २९ का प्रवीण गुरुङ, पर्वत घर भई काठमाडौँको शङ्खमूल बस्ने वर्ष २३ का निर्मल मल्ल र पोखरा–१७, बिरौटा बस्ने वर्ष २६ का राजेश ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
पोखरा–८, जाल्पारोडस्थित रहेको काभ्रेली खाजा घरका सञ्चालकले बालिका तथा महिलालाई होटेलमा राम्रो काम लगाइदिन्छु भनी सुरुमा सरसफाइको काम लगाएपछि विभिन्न प्रलोभनमा पारी पोखराका विभिन्न होटेलमा पठाई यौन शोषण गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले बिहीबार राति १० बजेतिर पर्वत खाजा घरबाट महिलालाई बाहिर लैजान लागेको अवस्थामा एक बालिका र दुई महिलालाई उद्धार गरेको छ ।
उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।