गएको सात महिनामा आठ खर्ब उनन्चालिस अर्ब विप्रेषण - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

गएको सात महिनामा आठ खर्ब उनन्चालिस अर्ब विप्रेषण - Gandaki Express


फागुन २८ गते । चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा विप्रेषण आप्रवाह आठ खर्ब ३९ अर्ब पुगेको छ ।  सात महिनामा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो ।


अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई छ अर्ब ३१ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो विप्रेषण १६.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ५८ हजार ५४० रहेको छ ।


अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः तीन लाख १४ हजार ७६७ र एक लाख ६७ हजार ७०८ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २०.० प्रतिशतले वृद्धि भई नौ खर्ब १० अर्ब ७४ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो ।


मुद्राप्रदाय सात प्रतिशतले बढ्यो


चालु आर्थिक वर्षको सात महिनामा विस्तृत मुद्राप्रदाय सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ४.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा विस्तृत मुद्राप्रदाय १३.७ प्रतिशतले बढेको छ ।


समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) दुई खर्ब ९७ अर्ब ७२ करोड (२०.४ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति एक खर्ब २८ अर्ब ५५ करोड (११.२ प्रतिशत) ले बढेको थियो ।


समीक्षा अवधिमा सञ्चित मुद्रा १.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा २.० प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा सञ्चित मुद्रा १४.० प्रतिशतले बढेको छ ।


चालु खाता एक खर्ब ६१ अर्बले बचतमा


समीक्षा अवधिमा चालु खाता एक खर्ब ६१ अर्ब ६९ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब २२ करोडले बचतमा रहेको छ ।


समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २९.० प्रतिशतले कमी आई तीन अर्ब ८० करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब १८ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ३५ करोड रुपियाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब चार करोडले धनात्मक रहेको थियो ।


समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब २८ अर्ब ५५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब २४ करोडले बचतमा रहेको छ । 


कुल विदेशी विनिमय सञ्चिति झन्डै साढे १८ खर्ब


चालु आर्थिक वर्षको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई २०८० माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ ।


अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकामा २०८० माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ ।


बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्क बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० माघ मसान्तमा १४.२ प्रतिशतले वृद्धि भई दुई खर्ब २१ अर्ब दुई करोड कायम भएको छ । २०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको खबर  आजको गोरखापत्रमा छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :